ओली प्रधानमन्त्री भएपछि नीति नै बनाएर भ्रष्टाचार गर्न थाल्नुभयोः मेटमणि चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको भ्रम हट्न पनि वर्तमान सरकार लामो समयसम्म चल्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेसहितको सरकार लामो समयसम्म चल्दा जनतामा केपी ओलीमाथि रहेको विश्वासरुपी भ्रम हटेर जाने बताएका हुन् ।

‘म यो सरकार लामो समयसम्म चलोस् भन्ने चाहने मान्छे हो । केपी ओलीप्रति जनतामा अझै भ्रम नै छ । जति लामो समयसम्म यो सरकार चल्छ, त्यो भ्रम हटेर जान्छ । केपी ओलीप्रतिको भ्रम मेटिनु जरुरी छ । त्यसको लागि अझ यो सरकार चल्नुपर्यो नि त,’– उनले भने ।

नेता चौधरीले प्रधानमन्त्री ओलीले ‘एक रुपैयाँ घुस खान्नँ र खान पनि दिन्नँ’ भने पनि उनले करोड, अर्ब र खर्ब घुस खान्नँ चाहीँ नभनेको बताए । ओली प्रधानमन्त्री बनेपछि संस्थागत रुपमै भ्रष्टाचार सुरु भएको बताए । भोलि अख्तियारले पनि समात्न नसकोस् भन्ने तरिकाले सबैखालका भ्रष्टाचारको काम भइरहेको नेता चौधरीको दाबी छ ।

‘उहाँले बोलेको कुरा एक रुपैयाँ घुस खान्नँ र खान पनि दिन्नँ भन्नुहुन्छ । उहाँले एक रुपैयाँ घुस खान्नँ भनेको एक करोड, दुई करोड, अर्ब, खर्बमा खान्नँ भनेको होइन नि त । अहिलेजतिको भ्रष्टाचार अहिलेसम्म नेपालमा भएको थिए । उहाँले अहिलेसम्म प्रधानमन्त्री भएपछि संस्थागत रुपमा नीति बनाएर नै भ्रष्टाचार गर्न थाल्नुभयो । अहिले जति भइरहेको छ, नीति नै बनाएर,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *