वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा ४१ अर्ब राजस्व सङ्कलन

पर्सा । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिए ।

‘गत आवको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो’, उनले भने, ‘गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’

कार्यालयले साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड, मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड, चैतमा रु चार अर्ब ५० करोड र वैशाखमा रु चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *