माहुरीपालनबाट आयआर्जन गर्दै सामुदायिक विद्यालय

गजेन्द्र गुरुङ

खजुरा । बाँकेको एउटा सामुदायिक विद्यालयले माहुरीपालनबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्दै आएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उक्त विद्यालयले माहुरीपालनसमेत गर्दै राम्रो आम्दानी गर्दै आएको हो ।

जिल्लाको कोहलपुर नगरपालिका-१३ भरैयास्थित बालशिक्षा माध्यमिक विद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८-०७९ बाट ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत विद्यालयले माहुरीपालन गर्दै आएको हो ।

विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८-०७९ बाट माहुरीपालन गर्दै आएको बताउनुभयो ।

“विद्यालयले पढ्दै कमाउँदै कार्यक्रमअन्र्गत माहुरीपालन गर्दै आएका छौँ, हाल ४७ घार मेलिफेरा जातको माहुरी छ, वार्षिक करिब पाँच क्विन्टल शुद्ध मह उत्पादन हुँदै आएको छ,” प्रअ खत्रीले भन्नुभयो, “मह विक्रीबाट वार्षिक दुई लाख बढी रुपियाँ आम्दानी हुँदै आएको छ, उक्त रकमबाट गरिब तथा जेहेन्दार तथा आयश्रोत नभएका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री दिनुका साथै तीन जना निजी स्तरबाट कार्यरत शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक प्रदान गर्दै आएका छौँ ।”

उहाँले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले स्कुल समयभन्दा बाहेकको समयमा च्याउखेती, फलफूलखेती, फाहोर सङ्कलन गरि कम्पोष्ट मल उत्पादन, बिरुवाहरुको नर्सरी (ब्याड) निर्माण, वृक्षरोपण लगायतका आयमूलक कार्यमा भाग लिने गरेको बताउनुभयो । विद्यार्थीहरुलाई कामको प्रकृतिअनुसारको पारिश्रमिक प्रदान गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

“सामूहिक रुपमा विद्यार्थीहरुले उक्त काम गर्न रहर मान्छन्, खुसी हुन्छन्, पारिश्रमिक पाउँदा झनै खुसी भएर काम गर्छन् र पढाइमा पनि ध्यान दिन्छन् ।” उहाँले भन्नुभयो, “विषयगत रुपमा प्रयोगात्मक हुँदा सिक्ने मौका पनि राम्रो हुन्छ, प्रोजेक्ट वर्क (परियोजना कार्य) गर्न प्रोत्साहित हुन्छन्, घरमा काम नगर्ने विद्यार्थीहरु पनि यहाँ काम गर्दा जाँगर लगाएर गर्छन् र घरमा पनि सहयोग गर्नुपर्छ, काम गर्नुपर्छ भन्ने सकारात्मक सोचको समेत विकास हुँदै आएको छ ।”

विद्यालयको नाममा करिब १८ विघा जमिन भएपनि जम्मा दुई विघा चार कट्ठा मात्र भोगचलन गर्दै आएको उहाँले जानकारी दिनुभयो । जसमध्ये केही वर्षअघि तत्कालीन स्थानीय सरकारले विद्यालयको १० विघा जमिनमा वादी समुदायलाई घरवास बनाएर बस्ती बसालेको उहाँले बताउनुभयो । त्यसैगरी तत्कालीन विद्यालयका विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व.कुमबहादुर खड्काले करिब चार विघा जग्गा भाडामा लिएको जानकारी दिनुभयो ।

“विद्यालयको नाममा करिब १८ विघा जमिन छ, विद्यालयले हाल दुई विघा चार कट्ठा मात्रै भोगचलन गर्दै आएको छ, १० विघामा तत्कालीन स्थानीय सरकारले वादी समुदायलाई घरवास बनाएर बस्ती बसालेको छ, करिब चार विघा जमिन विद्यालय व्यवस्थापन समितिका तत्कालीन संस्थापक अध्यक्ष स्व.कुमबहादुर खड्काले २०५१ सालमा व्यक्तिगत प्रयोजनका लागि भाडामा लिनुभएको रहेछ ।” उहाँले भन्नुभयो, “हाल खड्काको मृत्यु भइसकेको छ, २०६२ पछि उक्त जमिनको भाडा पनि स्कुललाई आएको छैन, उहाँका छोरा अहिले १३ नम्बर वडाका अध्यक्ष हुनुहुन्छ, अहिलेसम्म पनि उक्त जग्गा उहाँले नै भोगचलन गर्दै आउनुभएको छ ।”

विद्यालयले अब कागतीखेती गर्नुका साथै माछापालनको समेत योजना बनाएको छ । विद्यालयमा हाल चार सयबढी विद्यार्थी अध्ययनरत छन् । खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत अब्बल छ । विद्यार्थीहरुले समूहअन्तर्गत गत वर्षदेखि त्रैमासिक रुपमा ‘बिहानी’ नाम भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन् । छात्रा क्रिकेटमा त विद्यालयले राम्रा खेलाडीसमेत उत्पादन गरिरहेको प्रअ खत्री बताउनुहुन्छ ।

“हामीले पढाइका अलावा खेलकुद लगायतका अन्य अतिरिक्त क्रियाकलापहरु समेत गराउँदै आएका छौँ, समूह बनाएर विद्यार्थीहरुले गत वर्षदेखि त्रैमासिक रुपमा भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन्, २०७८ मा चौथो उपमेयर कप छात्रा क्रिकेटको आयोजनासमेत गर्याैँ, क्रिकेटमा छात्राहरु आकर्षित् भएका छन् ।” उहाँले भन्नुभयो, “जिल्ला, प्रदेश मात्रै नभएर राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा समेत छात्राहरु सहभागी भएका छन्, चार जना त राष्ट्रिय खेल खेल्नका लागि छनौटसमेत भएका छन् ।”

सरकारको कार्यविधि अनुसारको मापदण्ड पूरा गरेर पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको यो विद्यालय कोहलपुरका ३१ वटा सामुदायिक विद्यालयमध्ये एउटा मात्र पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको विद्यालय हो । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *