आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने


काठमाडौं।  नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी समेत पुरा भइसकेको जनाएको छ ।

महाधिवेशनमा देशभरमा ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष वीर बहादुर बुढाथोकी मगरले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने महाधिवेशनमा सम्मानित नेता झलनाथ खनालको विशेष आतिथ्यता रहने छ । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव चन्द्र तामाङले बताए ।

महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनीतक प्रतिवेदन पारित हुने अध्यक्ष मगरले बताए । सम्मेलनलाई सम्बोधन गर्दै मगरले विभिन्न समुदायको अधिकार स्थापित गरिएको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन माग गरे । मुलुकको व्यवस्था विरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *