काठमाडौँ । यही जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरुको चेतावनी छ ।
विज्ञहरुको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरु व्यवस्थित हिसावले गरिरहेको बताएको छ । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनी असरले पार्ने समस्या न्यूनीकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
हिम पहिरोदेखि हिमताल विस्फोटका घटना सँगसँगै हुने अवस्था
डा. उप्रेतीकाअनुसार यस वर्षको जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम बढ्ने छ । ३० वर्ष यताकै धेरै वर्षा हुने उहाँको भनाइ छ । यस वर्ष देशका विभिन्न स्थानमा फरक फरक वर्षा हुने छ । मधेश प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने छ ।
‘सुदूरपश्चिमको उच्च हिमाली क्षेत्र दार्चुला, बैतडीलगायतका क्षेत्रमा भनेपछि त्यही कुरा बागमती प्रदेशको कतिपय ठाउँमा ३५ देखि ४५ प्रतिशतमात्र छ । तर केही ठाउँमा चाहीँ ४५ देखि ५५ प्रतिशतको सम्भावना देखिन्छ । सम्भावना अझ बढी छ भन्ने देखिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘गण्डकी प्रदेशको अधिकांश दुई तिहाई भागमा र लुम्बिनी प्रदेशको पनि करिव करिव दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ भन्ने देखाएको छ । यसबाट के बुझिन्छ भने गण्डकी प्रदेशमा सबैभन्दा बढी वर्षा हुने देखिन्छ ।’’
डा. उप्रेतीका अनुसार यसपटकको विशेषता भनेको उच्च हिमाली क्षेत्रमा पनि औसतभन्दा बढी वर्षा र खासगरी कर्णाली प्रदेशको उत्तरी भाग र सुदूरपश्चिम प्रदेशको उत्तरी भाग, लुम्बिनी प्रदेशको उत्तरी भागका साथै गण्डकी प्रदेशको पनि उत्तरी भागमा औसतभन्दा बढी तापक्रम पनि हुने भनिएकाले हुनाले चाहीँ डरलाग्दो विषय छ ।
उच्च हिमाली क्षेत्रमा तापक्रम औसतभन्दा बढी हुनु भनेको हिम पहिरोदेखि हिमताल विस्फोटका घटनापनि सँगसँगै हुने त्यस्तो अवस्थापनि देखाएको उहाँको भनाइ छ ।
‘‘यो लामो प्रक्षेपण भयो अब प्रत्येक महिनाको प्रक्षेपण पनि हुन्छ । र यो असारको नजिक नजिक जुन प्रक्षेपण हुन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ । असारको पहिलो हप्ताको प्रक्षेपण, साउनको पहिलो हप्ताको प्रक्षेपण, भदौको पहिलो हप्ताको प्रक्षेपण त्यो हेरेपछि अहिलेको अवस्था कति ब्रेक हुन्छ । बिच बिचमा मनसुन लगातार आउने होइन ।’’ उहाँले भन्नुभयो ।
कृषि क्षेत्रमा मनसुनी असरको समस्या न्यूनीकरणमा जोड दिनुपर्छ
डा. उप्रेतीले मनसुनी वर्षा जुन रुपमा हुनुपर्ने हो सोही रुपमा भए कृषि प्रणालीलाई पनि फाइदा पुग्ने बताउनुभयो । मनसुनको बिचमा लामो समय पानी परेन भने कृषिमा यसले नराम्रो असर पार्ने जानकारी दिनुभयो । यसलाई व्यवस्थित वा न्यूनीकरण गर्नेतर्फ भने सरोकारवाला निकायहरुको भूमिका नै बढी महत्त्वपूर्ण हुने डा. उप्रेतीको भनाइ छ । मनसुनी असरले पार्ने समस्या न्यूनीकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘‘कृषिको सन्दर्भमा कृषि अनुसन्धान केन्द्रदेखि लिएर कृषि विभाग, कृषि मन्त्रालयसँग बढी विज्ञता हुन्छ । उहाँले कुन बालीमा कस्तो असर पर्छ भन्नेकुरा उहाँहरुलाई बढी थाहा हुन्छ । मैले भन्दा चाहीँ पानीको प्रकृतिका विषयमा भन्दा धानको बीउ रोप्ने समय नेपालमा अधिकांश जेठको अन्तिमतिर या असारको पहिलो सातासम्मको समय हुन्छ । धानको बिउ खेतमा रोप्ने र पाखो जमिनमा पनि धान मकै छर्ने समय यतिबेलै हुन्छ ।’’
अब सुरुको अवस्थामा प्रि मनसुनमा मनसुन सक्रिय भएको छ । यो पछिल्लो मनसुनभन्दा अगाडिको महिनामा अझ बढी सक्रिय भएको छ । आज र भोलिमा पनि प्रि मनसुनको अन्तिम अवस्थामा पनि मनसुन सक्रिय हुने नै देखिन्छ ।
यो वर्ष उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि डेंगुु देखिनसक्छ
डा. उप्रेतीले यस वर्ष औषतभन्दा बढी पानी र औषतभन्दा बढी तापक्रम हुने देखिएकाले डेंगु रोग पछिल्ला वर्षहरुको भन्दा बढ्नसक्ने बताउनुभयो । औसतभन्दा बढी पानी परेर खाल्डाखुल्डीमा पानी जम्ने र पानी रोकिएसँगै बढ्ने तापक्रमका कारण ती खाल्डाखुल्डी डेङ्गु उत्पादन गर्ने उद्योगका रुपमा परिणत हुनसक्ने उहाँको बुझाइ छ । साथै यो वर्ष उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा पनि डेंगु देखिने सम्भावना भएकाले सचेतना फैलाउनु जरुरी भएको उहाँको भनाइ छ । यो आजको मात्र समस्या नभएकोले यस प्रकारका समस्या समाधानका लागि प्रविधिमा पनि सँगसँगै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पहिलो त मनसुन सिजनमा सबैभन्दा बढी देखिने र नेपालले सबैभन्दा बढी भोगेको समस्या भनेको डेंगुको समस्या हो । डेंगुको समस्या तापक्रम औसतभन्दा बढी भयो र पानी औसतभन्दा बढी परेर खाल्डाहरुमा पानी भरियो र मनसुन ब्रेक भएको अवस्थामा डेंगुको मच्छर उत्पादन गर्ने उद्योगजस्तो हुन्छ । र मानिसहरुमा डेंगुको केशहरु पछिल्ला वर्षहरुको भन्दा बढ्नसक्ने छ ।’’
जोखिम आँकलन गरेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ
डा. उप्रेतीले उत्तरी क्षेत्ररुमा औषतभन्दा तापक्रम र वर्षा बढी हुने भएकाले हिमाली क्षेत्रमा पनि बढी पानी परेको बताउनुभयो । जसका कारण माटो बगाएर ल्याउने, नदी थुनिने फेरि फुट्ने र नदी थुनिदा त्यसले ठुलो तालको रुप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने उहाँको भनाइ छ । त्यसकारण हिमाली भेगबाट बग्ने नदीहरु कर्णाली, कोशी, राप्ती, बबईदेखि नारायणीसम्म तटीय क्षेत्रमा उपल्लोदेखि तल्लो अवस्थासम्म जोखिमको आँकलन गरेर पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘‘औसतभन्दा बढी तापक्रम उत्तरी क्षेत्रमा पर्ने र धेरैजसो जल तथा मौसम विज्ञान विभागको नक्सा जुन बाहिर आएको छ मनसुनको । त्यसलाई मात्र हेर्ने हो भने पनि औसतभन्दा वर्षा पनि उत्तरी क्षेत्रमा बढी हुने र औसतभन्दा तापक्रम पनि उत्तरी क्षेत्रमा बढी हुने हुनाले मैले दुई तरिकाबाट हेर्छु । एउटा उत्तरी क्षेत्रमा औसतभन्दा बढी वर्षा हुनुभनेको चाहीँ त्यो हिउँको रुपमा या पानीको रुपमा कुन रुपमा पर्छ भन्ने कुरा चाहीँ त्यसको महत्व हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेको अनुमान हेर्दा चाहीँ उच्च हिमाली क्षेत्रमा पानी पर्ने सम्भावनाहरु बढेर गएको र पानी परिराखेको देख्यौँ । जुन खालको बाढी आयो त्यो चाहीँ हिउ परेर आएको बाढी होइन, पानी परेर आएको बाढी हो । र अहिलेको यो प्रक्षेपण पनि कतै उच्च हिमाली क्षेत्र जहाँ माटोमात्र छ । वननवस्पतिले छोपेको अवस्था छैन ।’’
भौतिक संरचना निर्माणलाई वैज्ञानिक बनाउनुपर्छ
हरेक वर्ष हुने मनसुनी क्षति कम गर्न भौतिक संरचना र अन्य संरचना निर्माणलाई वैज्ञानिक तरिका अपनाउनुपर्नेमा डा. उप्रेतीले जोड दिनुभयो । उहाँले रोशी खोलामा हालै पुगेको क्षतिको उदाहरण दिँदै २४ घण्टामा एक सय चालिस देखि २ सय मिलिमिटर वर्षापछि आउने बाढी ४४ मिलिलिटरमै आउनु खतराको सङ्केत भएको स्पष्ट पार्नुभयो ।
‘‘प्रत्येक वर्ष आउने मनसुनी अवस्था छ त्यो अवस्था अहिले औसतीय अवस्था हुँदा पनि बाढी पहिरो आउने सम्भावना बढी हुन्छ । अहिले चाहीँ हाम्रो जतिपनि भौतिक संरचना निर्माण र अन्य संरचनालाई वैज्ञानिक तरिकाले निर्माण नगरेको अवस्थाले गर्दा थोरै पानीमा पनि जस्तो रोशी खोलामा ४४ मिलिमिटर पानीमा त्यत्रो ठूलो बाढी आयो ।,’’ उहाँले भन्नुभयो, ‘‘भनेपछि लगभग २४ घण्टामा एक सय ४० मिलिमिटर दुई सय मिलिमिटर वर्षाभएपछि आउने बाढी ४४ मिलिलिटरमै आयो भनेपछि यो खतरनाक हो । र अहिले ४४ मिलिमिटरभन्दा बढी वर्षा त हुन्छ हुन्छ सबै ठाउँमा । रोशीले जुन एक खालको अवस्था देखायो । त्यो हाम्रो लागि चुनौति हो । र त्यो चुनौति देशका धेरै भागमा हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर यातायातका क्षेत्रमा सचेतना अपनाउनुपर्ने, गत वर्षको घटना ताजै छ । अन्य ठाउँमा कच्चि रोडहरुमा पहिरोले ब्लक हुने अवस्था छ । खाद्य ढुवानी गर्नुपर्ने अवस्था । १०÷१५ दिन को अवधिमा त्यो समय भन्दा अघि नै दूरदराजका गाउँहरुमा ढुवानी गरिसक्नु पर्यो ।’’