काठमाडौं। नगरवासीलाई अक्सिजन सुविधा निःशुल्क प्रदान गर्न झापाको कनकाइ नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सोमबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सुरुङ्गास्थित नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याएको हो । कोभिडलगायत महामारीमा नगरवासीलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले लगत्तै अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया सुरु गरेको थियो ।
स्थानीय दातासमेतको सहयोगमा दैनिक एक सय ६० वटा सिलिण्डर उत्पादन गर्नसक्ने क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्लान्ट सञ्चालनमा आएपछि नगरपालिकाले नगरवासीलाई निःशुल्क अक्सिजन सेवा दिने निर्णय गरेको छ । ‘अब हाम्रो नगरभित्र कसैलाई पनि अक्सिजनको अभाव हुनेछैन । जसलाई जति आवश्यक पर्छ उहाँहरुले निःशुल्क सुविधा लिन सक्नुहुन्छ,’ मेयर पोखरेलले भन्नुभयो । प्लान्ट स्थापना गर्न एक करोड ६६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन न्यौपानेले जानकारी दिनुभयो ।