काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठबन्धनमा आफ्नो भागमा परेका क्षेत्रको उम्मेदवारको नाम टुंगो लगाएको छ। सोमबार बिहान बसेको केन्द्रीय सचिवालयको २३ औं बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका उम्मेदवार तय गरेको हो।
महासचिव डा. बेदुराम भुसालका अनुसार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, हेटौडा उपमहानगरपालिका प्रमुखमा मिना लामा, काठमाडौँ महानगरपालिका उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिका उपप्रमुख चिनबहादुर गुरुङ, तुल्सीपुर उपमहानगरपालिका उपप्रमुख जोगबहादुर राना मगरलाई उम्मेदवार बनाएको जानकारी दिनुभयो।
भुसालले आफ्नो पार्टीका उम्मेदवार सबैले पार्टीको चुनाव चिन्ह कलम लिने बताउनु भयो। पाँच दलीय गठबन्धनभित्रका दलहरुबिच तालमेलको सहमति भएका स्थानमा सहमति अनुसारको उम्मेदवारी मात्र दिने र तालमेल नभएका सबै स्थानमा हाम्रो पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको वहाँले बताउनु भयो।सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा चुनावी तालमेल गरेको छ।