काठमाडौं । नेकपा एकीकृत समाजवादीले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले चार वटा निर्णय गरेको हो ।
‘विचार मिल्ने वामपन्थी दलहरूको बीचका एकताका लागि पहल गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । अब हामी पार्टी एकताको लागि छलफल चलाउँछौं । अहिले नै पार्टी एकता गरिहाल्ने अवस्था भने छैन तर छलफललाई निरन्तरता दिन्छौं,’ भुसालले भने ।
छलफल वामपन्थी पार्टीहरूको बीचमा मोर्चा बनाउने र विचार मिल्नेहरूका बीचको एकताका लागि पनि हुन सक्ने उनले बताए । त्यसबाहेक एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय परिषद् बैठकबाट पारित भएको कार्ययोजनाको समीक्षा र कार्यान्वयनबारे छलफल गरेको छ ।
संगठन सुदृढीकरणको योजनाबारे पनि बैठकमा छलफल भएको भुसालले बताए । पार्टीले समाजवादको वस्तुगत अवधारणा बनाउने, अहिले देखिएको आर्थिक संकट समाधानका लागि पार्टीको धारणा बनाउने लगायतका विषयमा सचिवालयमा छलफल भएको उनले बताए ।
