मासु पसलमा आगलागी

काठमाडौं । टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका– ८ मिलनटोलमा शुक्रबार राति ७ बजेर २० मिनेट जाँदा श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई आगलागी हुँदा एक करोड बराबरको क्षति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगलागीबाट पाँच वटा पसलमा रहेका सामान क्षति हुँदा एक करोड बराबरको क्षति भएको जानकारी दिनुभयो । बाँकी तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् ।

आगालागीमा परेर कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको दूध डेरी जल्दा दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा २५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको तीन वटा सटरसमेत जलेर नष्ट भएको प्रवक्ता रिजालले बताउनुभयो । नेपाल प्रहरी, स्थानीय बासिन्दा, पानीको दुई वटा दमकल, तीन वटा पानीको ट्याङ्करको सहायतामा उक्त आगाे निभाइएकाे  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *