रहस्यमय अवस्थामा पतिपत्नीको शव फेला

काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उनकी पत्नी २० वर्षीया मञ्जु गडरियाको शव फेला परेको छ । उनीहरु घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐनबहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसँगै चुँडिएको डोरी फेला परेको बताउनुभयो । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिए पनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताउनुभयो ।

घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्किएको जस्तो देखिएको र घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाइएको मल्लको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर कृष्णले आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । तर, संघर्ष धेरै भएको देखिएकाले दुबैको हत्या भएको हुनसक्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शरीरमा कुनै प्रकारको दाग नदेखिएकाले घटनाको अनुसन्धान गहिरिएर शुरु गरिएको डीएसपी मल्लले बताउनुभयो । स्थानीयले चोरहरुले दुबैको हत्या गरेर धनमाल चोरेको आशंका गरे पनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीको भनाइ छ । शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको र पोष्टमार्टमपछि मात्रै हत्या वा आत्महत्या के हो ? सो बारे पत्ता लाग्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *