काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइएको छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते शुरू हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।
साउन १ गते अर्थात साउनेसङ्क्रान्ति १८ मगरात क्षेत्रमा मगर समुदायले साउने सकराई र उधेलि पर्वका रुपमा मनाउने गर्छन् । मगर समुदायमा मौलिक पर्व राके सकरातीमा लुतो फाल्ने र आगो पानी भूमि पूजा गर्ने, दमाहा बाजा बन्द गर्ने परम्परा छ । सकरातीको दिनदेखि नै मादल बाजा फुकाउने र नयाँ नाच पैस्यारु, सिङगारु, सरङ्या नाचको आरम्भ गर्ने परम्परा रहेको छ । साउन १ मा असारे वर्षात तथा हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन पनि छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास मगर समाजमा रहिआएको छ ।
सकरातीको अबसरमा बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । तर, पछिल्लो समय लुतो फाल्ने संस्कृति भने हराउँदै गएको स्थानीय बताउँछन् ।
बजार क्षेत्रमा प्रचलन हराइसके पनि मध्ये पहडाका गुल्मी, पाल्पा, बाग्लुङ, रुकुम, रोल्पा लगायतका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको बागलुङ ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुन मगरले बताउनुभयो । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बूढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उहाँको भनाइ छ ।
पहिले पहिले साउने सङ्क्रान्तिको साँझ भलायो, कुरिलो, लुतेझार, पानीसरो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो लगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको पुनले बताउनुभयो । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको उहाँले उहाँको भनाई छ ।