काठमाडौं । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा सत्तारुढ दलका एक एक जना प्रतिनिधि रहनेछन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन गरेको हो । बैठकले साझा कार्यक्रम पाँच दिनभित्र बनाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी हुनुहुन्थ्यो ।