पाेखरा । पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको छ । लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३ः४५ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आएको छैन् । आगो नजिकका अन्य पसलहरूमा पनि सल्किएको छ ।
आगलागीबाट हिमालयन जाभा,नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत पसलहरूमा पनि आगो सल्किएको छ । आगो नियन्त्रणका लागि अहिले नेपाली सेना,सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोली खटिएका छन् ।
दुईवटा दमकल र तीनवटा ट्याङकरको सहायताबाट आगो नियन्त्रणमा लिने प्रयास जारी छ । आगोबाट मानवीय क्षति भने भएको छैन । मानविय क्षति नभएपनि आगलागीबाट करोडौंको क्षति भएको आकलन गरिएको छ ।
नजिकैका पसलहरूबाट कतिपय व्यवसायीले सामान पनि सुरक्षित स्थानतर्फ सार्न सकिरहेका छैनन् । आगलागीका कारण हल्लनचोकदेखि बाराही चोकसम्मको सवारी आवागमन प्रभावित बनेको छ ।