किन लगाईन्छ जनै? यस्तो छ शास्त्रीय मान्यता !

काठमाडौं । आज जनै पूर्णिमा  । यस दिनमा व्रतबन्ध गरेका द्विजातिहरूले जनै फेर्ने गर्छन् ।  सनातन हिन्दू धर्मका १६ संस्कारमा उपनयन संस्कार अन्तर्गत जनै लगाउने गरिन्छ । यसलाई यज्ञोपवीत संस्कार भनिन्छ । ​  याे पर्व सत्ययुगकाे कथासँग सम्बन्धित छ । 

सत्ययुगमा दानवले लखेटेका देवताहरूलाई गुरु बृहस्पतिले मन्त्रिएर लगाइदिएकाे यज्ञाेपवीतका कारण देवताहरूकाे रक्षा भएकाे भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन पर्व सुरू भएकाे धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । उनका अनुसार मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन् । ब्राह्मण, क्षत्री र वैश्यले यसै दिन आफ्नो जनै फेर्ने गरेका छन् । 

जनै लगाउने पवित्र मन्त्र यसप्रकार छ : 

ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्।

आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥

जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्र लगायतका नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ । 

उपनयन संस्कार भएका व्यक्तिले जनै लगाउँछन् । उपनयनको अर्थ हुन्छ नजिक लानु । कसको नजिक लाने त ? ब्रह्म (ईश्वर) र ज्ञान नजिक । 

जनै धारणको धार्मिक र वैज्ञानिक महत्त्व छ ।  धार्मिक महत्त्वको कुरा गर्दा द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । 

जनै तीनवटा पवित्र सूत्रबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि लगाइन्छ ।  तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि यसलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमको पनि प्रतीक हो । 

जनैको लम्बाइ ९६ औंला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।

जनै धारणका नियम
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन । 

जनैको एक सूत्र चुँडियो वा जनै लगाएको ६ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ । 

घरमा जन्म वा मरणको सूतकपछि जनै बदल्ने परम्परा छ ।  जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *