काठमाडौं। त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जानकारी दिनुभयो। अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।
यसअघि गत असार ३ गते एक विज्ञप्ती निकाल्दै अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो। स्वास्थ्य बीमा बोर्डले असार १४ गते अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्न स्वास्थ्य बीमा बोर्डको बैठक र चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढिसकेको जनाएको छ।