चीनमा विदेशी मिडियाकर्मीहरुको भेला, सहयोगको सल्लाह

काठमाडौं । चीनको उत्तर पश्चिम प्रान्त उरुम्छीको राजधानी सिन्च्याङमा दुई दर्जन बढी मुलुकका मिडियाकर्मीहरु सहयोगका विविध क्षेत्र पहिल्याउन जुटेका छन् । सांघाई सहयोग संगठनका सदस्य,पर्यवेक्षक,वार्ता साझेदार मुलुकका सरकारी तथा गैरसरकारी अधिकारी तथा विभिन्न मिडिया हाउस,संघ संगठनका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी फोरमको उद्घाटन गरिएको छ ।

‘समृध्द भविष्यका लागि सँगै उत्तम आवासको निर्माण’ नारासहित आयोजना गरिएको सम्मेलनले सांघाई संगठनको भावनालाई अघि बढाउन सहयोग पुर्याउने सहभागीहरुको भनाइ छ । चीनको पिपुल्स डेलीका अनुसार पारस्परिक विश्वास, पारस्परिक लाभ, समानता, परामर्श, विविध सभ्यताहरूको सम्मान र साझा विकासको खोजका लागि मिडिया सम्मेलन सार्थक हुनेछ ।

सांघाई सहयोग संगठनले स्थापनाको साढे दुई दशकमा सदस्य राष्ट्रहरूबीचको राजनीतिक पारस्परिक विश्वासलाई निकै कसिलो बनाउँदै फलदायी आर्थिक सफलता हासिल गरेको, सुरक्षा सहयोगमा उल्लेखनीय प्रगति गर्दै जीवन्त सांस्कृतिक आदानप्रदानलाई बढावा दिएको छ । आजदेखि भएको सम्मेलन सांघाई सहयोग संगठन सदस्य राष्ट्रहरुले आफ्ना मिडिया उद्योगमा भएका परिवर्तन बुझ्न, एकीकृत विकासका अवसरहरूलाई अग्रगामी सोचका साथ सम्बोधन गर्न र मिडियाको जिम्मेवारीलाई संयुक्त रूपमा अघि बढाउन कोशेढुंगा हुने विश्वास लिइएको छ ।

पिपुल्स डेली र सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रको जनसरकारको सह–आयोजनमा भएको कार्यक्रममा मिडिया संवाद सत्र र युवा सांस्कृतिक आदानप्रदान कार्यक्रम राखिएको छ । सम्मेलनपछि चिनियाँ तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूले सिन्च्याङमा विभिन्न क्षेत्रको अनुसन्धान र जानकारी लिने बताइएको छ ।जनआस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *