सियान । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीन नेपालका लागि भरपर्दो विकास साझेदार भएको धारणा राख्नु भएको छ ।
चीनको शान्सी प्रान्तको सियान शहरमा आयोजना गरिएको नवौं रेशम मार्ग अन्तर्राष्ट्रिय प्रदर्शनी तथा लगानी तथा व्यापार मञ्चमा बुधबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले चीन नेपालका लागि सबैभन्दा ठूलो व्यापार र लगानी साझेदारहरूमध्ये एक देश भएको धारणा राख्नुभएको हो । ‘‘‘चीनले सडक, राजमार्ग, विमानस्थल, ऊर्जा परियोजनालगायत धेरै पूर्वाधार परियोजनामा नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ।’’
उहाँले भन्नुभयो, ‘‘चीन हाम्रो सबैभन्दा ठूलो व्यापार र लगानी साझेदारहरूमध्ये एक हो।’’
चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले चीनको तर्फबाट भन्सार प्रशासनका नियमहरू सहज बनाउने, नेपालबाट निकासी हुने वस्तुहरूलाई प्राथमिकता दिने, गैर–भन्सार अवरोधहरू न्यूनीकरण गर्ने तथा अनलाइन प्लेटफर्महरूको उपलब्धता सुनिश्चित गर्ने जस्ता कार्यहरू गरियो भने व्यापार सन्तुलन कायम गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
नेपालले वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न आवश्यक लगानीमैत्री कानुनी संरचना, नीति तथा संस्थागत व्यवस्थाहरू गरिसकेका ले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न र नेपालले उपलब्ध गराएका लाभहरूको उपयोग गर्न आग्रह पनि गर्नुभयो। ‘‘कर छुट, अनुमतिपत्र तथा इजाजत प्रक्रियाको सरलीकरणजस्ता आकर्षक प्रोत्साहनहरूले नेपाललाई लगानीमैत्री गन्तव्य बनाएका छौँ’’, उहाँले भन्नुभयो ।
अर्को प्रसंगमा बोल्दै उपाध्यक्ष घिमिरेले नेपाल र चीनबीच आपसी सम्मान, समझदारी र सहकार्यमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको बताउनुभयो। उहाँले चीन र नेपालले सधैं एकअर्काका संवेदनशीलता र चासोलाई सम्मान गरेको बताउनुभयो । उहाँले नेपाल ‘एक चीन नीतिप्रति’ दृढ सङ्कल्पित रहेको पनि दोहोर्याउनु भयो ।