काठमाडौं। पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका ३ करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेको छ ।
बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका ३ करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो । सरकारको प्रारम्भिक अनुमान अनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ ।
सङ्घीय योजना मन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले ३ करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबारविहीन हुनेको सङ्ख्या बढ्दै गएपछि शनिबार अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । ‘पाकिस्तानी प्रवासीहरू र अन्तर्राष्ट्रिय समुदायलाई चरम अभावको योे घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्दछु,’ पत्रकार सम्मेलनमा उनले आह्वान गर्दै भने ।