पोर्चुगलका गैरआवासीय नेपालीले बुझाए पेरिसस्थित नेपाली राजदूतावासमा ज्ञापनपत्र

काठमाडौं । पोर्चुगलस्थित गैरआवासीय नेपालीले आफूहरूले भोगिरहेका समस्या चाँडो समाधान गर्न फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा नेतृत्वको टोलीले हालै राजदूत दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो। पोर्चुगलमा नेपाली दूतावास नरहेका कारण राहदानीलगायत विविध समस्या भोग्नुपरेको भन्दै टोलीले समाधानका लागि अधिकारीलाई आग्रह गरेको छ।

ज्ञापनपत्र बुझ्दै राजदूत अधिकारीले पोर्चुगलमा नेपालीले भोग्नुपरेका समस्या गम्भीर प्रकृतिको भएकाले समाधानका लागि गम्भीर रूपमा सोच्ने बताए। अहिले ई–पासपोर्टको व्यवस्था लागू भएपछि सम्बन्धित व्यक्त स्वयं उपस्थित हुनैपर्ने भएकाले कागजी समस्याका कारण पोर्चुगलबाट पेरिस दूतावाससम्म आउन समस्या हुनेका लागि दूतावासको टोली त्यहीँ गएर सेवा दिने उनले बताए।

‘नेपाली दूतावास फ्रान्सको कार्यक्षेत्रभित्र पर्ने पोर्चुगलमा ई–पासपोर्ट लागू भएको सूचना प्रकाशन गरेको झण्डै ९ महिना हुन लाग्दा समेत एकपटक पनि राजदूतावासको टोली निरीक्षण वा अनुगमन गर्न समेत नआएकोप्रति हामी अत्यन्तै दुखित छौँ’, संघका अध्यक्ष सोमफुरी शेर्पा र सचिव मिलन रेग्मीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ।

गत २३ जनवरीमा गैह्र आवासीय नेपाली संघ पोर्चुगलले त्यहाँका नेपालीको समस्याबारे गुनासो राख्न र समाधानका उपायको सुझाव संकलन गर्न लिस्बनमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा आएका गुनासा र सुझाव लिएर नै पेरिसस्थित दूतावास पुगेको अध्यक्ष सोमफुरी शेर्पाले बताए। यसका लागि परराष्ट्र मन्त्रालयबाट एक महिनाका लागि टोली पोर्चुगल आउने निर्णय भएको छ’, उनले भने, ‘उक्त टोली पोर्चुगल आउने समयबारे दूतावासले सूचना जारी गर्नेछ।’ पोर्चुगलकै एक समूहले सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै राजदूत अधिकारीले आपत्ति जनाए।

फ्रान्स गएको टोलीमा संघका वरिष्ठ उपाध्यक्ष बिनु बस्नेत, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्य धनराज शेर्पा, नेपाली समाज पोर्चुगलका अध्यक्ष कुमार योञ्जन, प्रवासी नेपाली मञ्च पोर्चुगलका उपाध्यक्ष धनीराम पौडेल र शेर्पा किदुग पोर्चुगलका सदस्य कुङ्गा शेर्पा सहभागी थिए।

भिसा सकिएका वा रेसिडेन्स कार्ड नबनेका नेपाली गैरकानूनी रूपमा फ्रान्स जान दुई देशको सिमाना पार गरेर आउन अत्यन्तै जोखिमपूर्ण रहेको ज्ञापनपत्रमा उल्लेख छ। यस्तै ‘रेसिडेन्स कार्ड’ हुनेहरूको हकमा पोर्चुगल जस्तो कम आम्दानी भएको देशमा नेपालीलाई एउटा पासपोर्ट बनाउन अधिक समय र पैसा खर्च गर्नुपर्ने बाध्यता रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *