काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) ले ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । यसैगरी, सोही दिन राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्व राजाका समर्थकले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा जनआन्दोलन गर्ने घोषणा गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार बिहीबारका लागि सुरक्षा योजना बनाएर काम अघि बढेको छ ।
उहाँले नेकपा (एमाले) ले काठमाडौँको भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, टुँडिखेल क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने सम्बन्धमा जानकारी प्राप्त भएकोले सो अनुरुप सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । पूर्व राजाका समर्थकको आन्दोलनबारे भने औपचारिक जानकारी प्राप्त नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हामी सुरक्षा योजना बनाएरै काम गरिरहेका छौं । नेपाल सरकारको औपचारिक कार्यक्रम पनि छ । नेकपा (एमाले) को सांस्कृतिक झाँकीसहितको र्याली भृकुटीमण्डपको वरीपरी केन्द्रित गरेर छ । विरोधका कार्यक्रमका बारेमा औपचारिक जानकारी आएको छैन ।”
सबै कार्यक्रम शान्तिपूर्णरुपमा हुने गरी तयारी अगाडि बढेको उहाँको भनाइ छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले काठमाडौँ उपत्यकासहित देशभरमा हुने गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रममा सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीको रहेको बताउनुभयो ।
विभिन्न राजनीतिक दलद्वारा बिहीबार आयोजना गरिने काठमाडौँ केन्द्रित कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन तथा कानुन उल्लङ्घन हुन नदिने ढङ्गबाट सुरक्षा व्यवस्थापनको तयारी हुने उहाँको भनाइ छ ।
प्रवक्ता थापाले भन्नुभयो, “विभिन्न राजनीतिक दलहरुले पनि आ-आफ्नो कार्यक्रमबारे जानकारी दिनुभएको छ । दुई पक्षबिच झडप नहुने गरी पर्याप्त सुरक्षा व्यवस्थापन मिलाइएको छ । प्रहरी प्रधान कार्यालयले सुरक्षाको लागि पर्याप्त जनशक्ति, अन्य साधन स्रोत उपलब्ध गराएको अवस्था छ ।”
उहाँले कानुन उल्लङ्घन हुने गतिविधि भएमा तत्काल कानुनी कारवाही हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कानुन उल्लङ्घन हुन नदिन, अप्रिय घटना, आगजनीलगायत कुनै किसिमको अवाञ्छनीय कार्यक्रम हुन नदिन सुरक्षाको व्यवस्था मिलाइएको छ । त्यस्ता क्रियाकलाप भएका तत्काल कानुनी कारवाही गरिनेछ ।”
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार प्रदर्शन क्षेत्रमा कस्तो गतिविधि हुन्छ, त्यही अनुसार ट्राफिक व्यवस्थापन गरिने बताउनुभयो ।
प्रवक्ता गिरीले भन्नुभयो, “पुरै सडक बन्द हुने अवस्था भयो भने सवारी साधन डाइभर्ट गर्नुपर्ने हुन्छ । एक, दुई लेन चल्ने अवस्था भयो भने त्यहीबाट सवारी साधन आवागमन हुने व्यवस्था मिलाइनेछ । परिस्थिति, मुभमेन्ट, मास र त्यहाँको गतिविधि हेरेर योजना तत्काल बनाउनुपर्ने हुन्छ ।”
नेकपा (एमाले) ले झाँकीसहितको उत्सव कार्यक्रम बिहान ११ बजेदेखि र पूर्व राजाका समर्थकले बिहान ९ बजेदेखि प्रदर्शन गर्ने बताएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले काठमाडौँ केन्द्रित हुने कार्यक्रममा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।
प्रमुख अधिकारीले भन्नुभयो, “हाम्रो पर्याप्त तयारी छ । सबै प्रकारका एकीकृत सुरक्षा योजना छ । त्यो अनुसार बिहानको समारोहदेखि व्यवस्थापनलगायत पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ ।”गोरखापत्र अनलाईन