काठमाडौं । चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदनलाई लिएर आपत्ति जनाएको छ । परियोजनाको ठेकेदार कम्पनी सीएएमसीले विज्ञप्ति जारी गर्दै आफूमाथि गरिएको टिप्पणीहरूलाई त्रुटीपूर्ण, तथ्यहीन, हचुवा र पूर्वाग्रही भएको बताएको हो ।
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थलमा ८ अर्ब २३ करोड बढी भ्रष्टाचार भएको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनमाथि कम्पनीले असहमति जनाएको हो ।
‘प्रतिवेदनमा हाम्रो कम्पनीसम्बन्धी उल्लेख गरिएका विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैनन् । त्यसले परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र चिन्ताजनक लागेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विमानस्थल निर्माणका क्रममा जटिल भौगोलिक अवस्था, मुद्रास्फीति र कोभिड–१९ महामारी जस्ता चुनौतीहरूका बाबजुद मार्च २०२२ मै निर्माण सम्पन्न गरिएको र डिसेम्बर २९, २०२२ मा नेपाल र चीन सरकारबीच हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर भएको कम्पनीले बताएको छ ।
