२ दिने नेपाल-म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो सम्पन्न

काठमाडौं । म्यान्मारस्थित नेपाली राजदूतावासले यागौंनमा शुक्रबार र शनिबार २ दिने ‘नेपाल–म्यान्मार ट्रेड एन्ड टुरिजम एक्स्पो– २०२५’ को आयोजना सम्पन्न भएको छ ।

कमिङ टुगेदर फर ट्रेड एन्ड टुरिजम प्रोमोसन नारा लिएर आयोजित उक्त एक्स्पोमा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा आईटी क्षेत्रसँग सम्बन्धित कम्पनीहरुले ५० भन्दा बढी स्टलमा आफ्नो वस्तु तथा सेवाको प्रदशनी गरेका थिए ।

शुक्रबार म्यान्मारका वाणिज्यमन्त्री यू टुन ओहन तथा म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले एक्स्पोको उद्घाटन गरेका थिए ।

रात्रिभोजसहितको उक्त कार्यक्रममा नेपाल तथा म्यान्मारका प्रतिनिधिले विभिन्न प्रस्तुतिकरण दिएका थिए ।

राजदूत घिमिरेले अथितिहरूलाई एक्स्पोमा स्वागत गर्दै नेपाल र म्यान्मारको ऐतिहासिक धार्मिक सम्बन्धलाई अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सम्बन्धका सम्भावित क्षेत्रहरूमा साझेदारीलाई सुदृढ गर्न दुतावासले निरन्तर एक्स्पो आयोजना गरेको बताए ।

म्यान्मारका वाणिज्यमन्त्रीले म्यान्मारका जनताका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण रहेकोले नेपाल उनीहरूका लागि धेरै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपाल र म्यान्मारले पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए ।

करिव २५० जनाको सहभागिता रहेको सो कार्यक्रममा यागौंन क्षेत्रका मुख्यमन्त्री, यागौंन क्षेत्रका आर्थिक मामिलामन्त्रीलगायत उच्च सरकारी पदाधिकारीहरू, बैंकिक क्षेत्रका उच्चपदाधिकारीहरू, व्यावसायी तथा नेपाली समुदायको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *