काठमाडौं । जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । यहाँका ८ वटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।
जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो ।
मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित कर चुक्ता सम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका २३० जना भेडापालक किसानलाई १८ हजार रुपैयाँका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताए ।
जिल्लामा भेडा मात्र पाल्ने किसान करिब १ हजार ७ सयभन्दा बढी छन् । यहाँका ८ वटै स्थानीय तहमा ८८ हजार ३ सयभन्दा धेरै भेडा पालिएका छन् । प्रोत्साहन भत्ताबापत् १८ हजार रुपैयाँ पाएपछि थप भेडापालनमा टेवा पुगेको छ ।
आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारले भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडापालक किसान सिँजा गाउँपालिका–६ का सुवा रावतको भनाइ छ । सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।