जुम्लाको शेरा खेतमा कालीमार्सी धान रोपाइँ

नौरते नेपाली

जुम्ला। जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ गरिएको छ । परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो ।

चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो । हरेक वर्षको जेठ १४ गते शेरा खेतमा रोपाइँ हुने गरेको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भन्नुभयो, “चन्दननाथ बाबाको शेरा जिउलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ ।”

जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ । जुम्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सी धान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन् । परम्परागत रूपमा रोपाइँ हुँदै आएको शेरा खेतमा यो वर्ष २२ भारी खेतमा रोपाइँ गरिएको छ ।

मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो । समुद्री सतह देखि दुई २ हजार ८ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्रथामिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ । चन्दननाथ नमूना माध्यामिक विद्यालयका विद्यार्थीले खेतमा धान रोपेका छन् ।

यसैगरी, जुम्लाका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी नन्दराम नेपालीले जानकारी दिनुभयो ।

पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो ।

जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिँजा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ धमाधम भइरहेको छ ।

जिल्लामा दुई हजार आठ सय ५० हेक्टरमा धानखेती हुन्छ । सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *