ज्योती पन्थी
बर्दिया। बर्दिया जिल्लाको दुई स्थानमा सामुदायिक अन्नभण्डार निर्माण गरिएपछि वन्यजन्तुपीडित स्थानीयलाई केही राहत मिलेको छ । बर्दिया राष्ट्रिय निकुन्जबाट आउने जङ्गली हात्तीले गाउँमा पसेर कृषकले वर्षभरिका लागि घरमा भण्डारण गरेर राखेको धान, गहुँ, मकै, मसुरो, चना र तोरी नोक्सान गर्न थालेपछि यहाँको मधुवन नगरपालिकाका दुई स्थानमा सामुदायिक अन्नभण्डार निर्माण गरिदिएको छ । मधुवन नगरपालिका वडा नं. १ को पत्थरभोजी र वडा नं. ३ थनौरा गाउँमा सामुदायिक अन्नभण्डार निर्माण गरिएका छन् ।
मधुवन नगरपालिका र हात्ती मेरो साथी कार्यक्रम सञ्चालन गर्दै आएको उज्यालो नेपाल कार्यक्रमको संयुक्त लगानीमा सामुदायिक अन्नभण्डार निर्माण गरिएको हो । मधुवन नगरपालिका वडा नं. १ पत्थरभोजी गाउँका स्थानीय कुमार खड्काले हात्तीले नोक्सानी पुर्याउन सक्ने घरका अन्न सामुदायिक अन्नभण्डारमा लगेर राख्ने र आफूलाई चाहिँदा भण्डारण गरिएको ठाउँबाट झिकेर भण्डारसँगै जोडिएको सामुदायिक मिलमा कुटानी पिसानी गरेर स्थानीयले घर लैजाने गरेको बताउनुभयो ।
मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले पत्थर भोजी गाउँ र धनौरा गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती गाउँ पसेर दुःख दिने, घरमा राखेका अन्नका कारण हात्तीले घरमासमेत आक्रमण गर्न थालेपछि नगरपालिका र उज्यालो नेपाल कार्यक्रम मिलेर अन्नभण्डार निर्माण गरिएको बताउनुभयो ।
यी दुवै गाउँ नेपाल–भारत सीमा क्षेत्रको खाता कोरिडोरसँग पनि जोडिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश थापाले हात्तीले कृषकको घरमा भण्डारण गरेर राखेको अन्न खाइदिन थालेपछि उनीहरूको कृषि उपज सुरक्षाका लागि मधुवन नगरपालिकाको तीन लाख र उज्यालो नेपाल कार्यक्रमको नौ/नौ लाखसहित एक स्थानमा १२ लाख लगानी गरेर दुई स्थानमा मिलसहितको सामुदायिक अन्नभण्डार निर्माण गरिएको बताउनुभयो । गोरखापत्र अनलाईन