सुधा देव
सप्तरी । मुलुकको पहिलो सिँचाइ प्रणाली जिल्लाको चन्द्रनहर जीर्ण भएपछि नेपाल सरकारको पहलमा तथा जापान सरकारको सहयोगमा सुरू भएको मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ ।
३२ वटा संरचना निर्माणको काम २ अर्ब २५ करोड ६० लाख जापानी रूपियाँको लागतमा २०७९ कार्तिक महिनादेखि निर्माण गर्न सुरू भएको मर्मत काम यही साउन १५ गतेभित्र सक्ने लक्ष्य अनुसार अन्तिम चरणमा पुगेको हो । सप्तरीको खेतीयोग्य जग्गामा सिचाइ गर्न चन्द्र नहरको सुरूदेखि नै महत्त्वपूर्ण योगदान रहँदै आएपनि मर्मत सम्भारको अभावमा किसानलाई सिचाइमा एकदमै समस्या हुँदै आएको थियोे ।
सप्तरीका किसानलाई खेती गर्न सहजताका लागि मुलुकको पहिलो सिँचाइ प्रणाली यस नहरको स्थापना १९८५ मा भएको थियोे । मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएको नहर हाल निर्माण भएको संरचनाले किसानलाई सिचाइमा थप सहयोग पुग्नेछ ।
पहिलो चरणमा ३२ वटा संरचना निर्माण गर्ने सम्झौता भएको काम अन्तिम चरणमा पुगेको बाँकी रहेको अन्य संरचना बनाउन थप प्रयास भइरहेको कोशी पम्प चन्द्र नहर सिचाइ व्यवस्थापनका प्रमुख एकराज भट्टराईले जानकारी दिनुभयो ।
मर्मत सम्भार काम राम्रो हुँदै आएपनि यति कामले मात्र यस नहरको सिँचाइ किसान समक्ष सहज रूपमा पुग्न नसक्ने स्थानीयले बताएका छन् । यति मर्मत सम्भारले मात्र पूर्णता दिन नसक्ने स्थानीयको भनाइ छ । २८ किलोमिटर लामो चन्द्रनहरको कमाण्ड एरिया १० हजार ५ सय हेक्टर रेपनि जीर्ण हुँदा आधा क्षेत्रफलमा मात्रै सिँचाइ हुन थालेपछि जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण काम गरिरहेको छ । गोरखापत्र अनलाईन