मोरङमा मकैको उत्पादन र उत्पादकत्व बढ्दै

हरिप्रसाद कोइराला

उर्लाबारी । मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो ।

कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा मकैको उत्पादकत्व समेत वृद्धि भएको छ । उहाँका अनुसार गत आवमा २० हजार ४५२ हेक्टरमा मकै खेती हुँदा १ लाख ४१ हजार ११८ दशमलव ८० मेट्रिक टन मकै उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर ६ दशमलव ९० मेट्रिक टन मकै उत्पादन भएको थियो । यो वर्ष प्रति हेक्टर उत्पादन सात मेट्रिक टन पुगेको छ ।

किसानले समयमा मल र सिँचाइ गर्न पाउने हो भने उत्पादकत्व अझ बढ्ने ज्ञान केन्द्र प्रमुख दीपा देवले बताउनु भयो । आर्थिक वर्ष ०७९÷०८० मा मोरङमा २० हजार ५२ हेक्टर जग्गामा मकै खेती भएको थियो । उक्त वर्ष १ लाख ३२ हजार ३४३ दशमलव २० मेट्रिक टन मकै उत्पादन भएको थियो। तीन वर्ष अघि प्रति हेक्टर ६ दशमलव ६० मेट्रिक टन मकै उत्पादन भएकोमा चालु वर्ष प्रति हेक्टर शुन्य दशमलव ४० प्रतिशतले उत्पादकत्व बढेको छ ।

दक्षिणी मोरङको रतुवामाई, सुनवर्षी, रङ्गेली नगरपालिका र धनपालथान,जहदा र कटहरी गाउँपालिकामा मकैको सघन खेती हुने गरेको छ । यस्तै पथरीशनिश्चरेका ५ र ६ नंं. वडा कानेपोखरीका १, २ र ३ नम्बर वडामा पनि मकैको व्यावसायिक खेती हुने गरेको छ । पछिल्लो तीन वर्षयता गहुँ उत्पादनमा ह्रास आउँदा मकै उत्पादन उल्लेख्य रूपमा वृद्धि भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।

चैते धान र मकैको उत्पादकत्व वृद्धि भए पनि वैशाख जेठमा पर्ने पानीबाट मकै र असारमा पर्ने पानीबाट चैते धान जोगाउन किसानलाई समस्या हुने गरेको छ । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *