म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भएको परियोजनामार्फत कृषि औजार वितरण गरिएको हो ।
पचहत्तर प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन वितरण गरिएको रघुगङ्गा गाउँपालिकाको कृषि अधिकृत दिपकराज जोशीले जानकारी दिनुभयो ।
थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन दोस्रो चरणमा वितरण गरिने उहाँले बताउनुभयो ।
सिँचाइका लागि २० एमएमको चार हजार ३६४ मिटर, २५ एमएमको एक हजार ५००, ३२ एमएमको चार हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण गर्ने क्रममा रहेको कृषि अधिकृत जोशीले बताउनुभयो ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडाध्यक्ष मनबहादुर शेरमन्जा र कृषि अधिकृत जोशीले मङ्गलबार कृषि औजार वितरण गर्नुभएको थियो । परियोजनाका लागि प्रदेश सरकारले ७५ लाख र गाउँपालिकाले २५ लाख विनियोजन गरेका छन् ।
लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनामार्फत जौँ र उवाको उत्पादनसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
परियोजनामार्फत झिँका २८३ परिवार कृषक लाभान्वित हुने छन् । ३०० रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको । परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्न लागिएको वडाध्यक्ष शेरमञ्जाले बताउनुभयो ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्त्वबारे जानकारी गराई खेती प्रविधीसम्बन्धी तालिमसमेत दिइएको थियो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो । प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले कृषि औजार र सामग्रीको प्रयोग गरि जौ र उवाको उत्पादन वृद्धि गरी आयआर्जनमा अग्रसर हुन आग्रह गर्नुभयो ।
पोसिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुने छ । जौँ हिन्दु धर्मावलम्बीको र जौँको सातु बौद्ध धर्मावलम्बीको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिँडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ । रासस