१५ ट्रक लसुन, डेढ करोड मूल्य
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० मा यस वर्ष हालसम्मकै बढी लसुन उत्पादन भएको छ । यस वडामा यो वर्ष १४० टन अर्थात एक लाख ४० हजार किलोग्राम लसुन उत्पादन भएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष धनबहादुर खड्काले १५ ट्रक बराबरको लसुन उत्पादन भएकोले बजारमा पठाउने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल बजारको मुल्य अनुसार प्रतिकिलो सरदर १२० रुपियाँका दरले करिब एक करोड ६८ लाख रुपियाँ बराबरको लसुन उत्पादन भएको छ । उत्पादन भएको केहि लसुन किसानहरुले घरायसी प्रयोगका लागि समेत छुट्याउने गरेका छन् ।
वडा अध्यक्ष खड्काका अनुसार लसुन खरिदका लागि केहि व्यवसायीहरु सम्पर्कमा आएका छन् । गत वर्षको मुल्य र राष्ट्रिय बजारको मागको आधारमा मुल्य एकिन गरेर लसुन बिक्रि गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । चार टोलमा विभाजित यस वडाका अधिकांस किसानहरु लसुनखेती गर्ने गर्दछन् । गत वर्ष यस वडाबाट ४५० क्विन्टल लसुन प्रतिकिलो १२० देखि १२५ रुपियाँका दरले बिक्रि भएको थियो ।
अहिले यहाँका किसानहरु लसुन खन्न, केलाउन र सुकाउनमा व्यस्त रहेका छन् । लसुन उत्पादक किसान खिमबहादुर ओलीले गाउँका किसानलाई लसुन ढल्याउन भ्याईनभ्याई रहेको बताउनुभयो । जेठ पहिलो हप्तामा मकै छर्ने समय हुने भएकोले खेत खाली गर्न दवाव रहेको उहाँको भनाई छ । ओलीले बारीमा तीन क्वीन्टल लसुनको बीउ लगाएको र २५ क्वीन्टल जति उत्पादन भएको बताउनुभयो । सबै लसुन बिक्रि भएमा राम्रो आम्दानी हुने र अर्को वर्ष खेतीको थप विस्तार गर्ने उहाँको भनाई छ ।

गाउँमै कमाऔं, घरमै रमाऔं
यस वडाले ‘गाउँमै कमाऔं, घरमै रमाऔं’ भन्ने मूल नारासहित कृषि उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिएको छ । लसुन, अलैची, प्याज उत्पादनका लागि अनुदानको बीउ समेत वडाले व्यवस्था गरिदिने गरेको छ भने बजारीकरणमा सहजिकरण पनि गरिदिने गरेको छ । यसका साथै कागती, सुन्तला लगायतका फलफूलका विरुवामा समेत सहयोग हुने गरेको छ । वडाकै अगुवाईमा विभिन्न शहरका व्यापारीहरु कृषि उत्पादन खरिदका लागि किसानका बारीसम्म जाने गरेका छन् ।
वडा अध्यक्ष खड्काले विभिन्न सरकारी कार्यालयसँग समन्वय गरी बीउ तथा प्राविधिक बिषयमा सहयोग गर्ने गरिएको बताउनुभयो । साथै विभिन्न स्थानका व्यापारीसँग समन्वय गरी बजारको ग्यारेन्टी सुनिश्चित गरिएपछि उत्पादन बढेको उहाँको भनाई छ । नगरपालिकाले यस वडालाई लसुन पकेट क्षेत्र बनाउन प्रस्ताव समेत गरेको छ ।
कृषि उत्पादन र बजारीकरणको क्षेत्रमा प्राप्त हुँदै गएको सफलताले वडाको आर्थिक उन्नतिमा महत्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास रहेको छ । वडाको पायक पर्ने स्थानमा चिस्यान केन्द्र भएमा उत्पादन र बजारीकरणमा कठिनाई नहुने किसानहरुको भनाई रहेको छ ।