खो–खो विश्वकपमा नेपालको तेस्रो सानदार जित

काठमाडौं । नेपालले भारतमा जारी खो–खो विश्वकपमा महिलातर्फ आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि जारी नै राखेको छ।
बुधबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा समूह ‘सी’ अन्तर्गतको नेपालले श्रीलंकाविरुद्ध ११०–१० को सानदार स्कोरले जित दर्ता गर्‍यो।

जितसँगै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट ६ अंक जोडेको छ। नेपालले यसअघि जर्मनीलाई ७३–३४ र भुटानलाई ९३–२४ ले पराजित गरेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। महिलातर्फ समूह ‘सी’ मा नेपाल र श्रीलंकासँगै बंगलादेश, भुटान र जर्मनी छन्। महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ।

महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *