मुक्त कमैया बस्तीको दिनचर्या : दैनिक पाँच सय कमाउने आसमा ३२ किमी साईकल यात्रा

ज्योति पन्थी
बर्दिया । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच सय रुपियाँ मात्र हो ।

चन्द्रबहादुर मात्र होइन, उहाँका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् । मुक्त कमैयाका लागि सरकारले व्यवस्था गरेको जग्गामा उनीहरूको बसोबास छ । धेरै मुक्त कमैया आफ्नो गाउँमा रोजगारी नभएपछि साइकल चलाएरै रोजगारीको खोजीमा सदरमुकाम गुलरिया पुग्छन् ।

चन्द्रबहादुरले भन्नुभयो, “कामको खोजीमा गुलरियासम्म बिहानबेलुका ओहोरदोहोर गर्दा ३२ किलोमिटर साइकलबाटै यात्रा हुन्छ तर कुनै कुनै दिन त काम नपाइँदा रित्तै फर्किनु पर्छ ।”

वर्षभरिमा केही दिन मात्र गाउँमै कृषिको काम पाइन्छ । वनगाईका अर्का मुक्त कमैया मङ्गतु थारूले कहिलेकाहीँ गुलरिया ढिला पुग्दा काम नपाइने बताउनुभयो । उनीहरू गुलरियामा ज्यालामजदुरीको काम गर्न घरबाट बिहान ६ बजे नै निस्कन्छन् । घरबाटै खाना र खाजा बनाएर कार्यस्थलमा जानु उनीहरूको दैनिकी हो ।

मङ्गतुले भन्नुभयो, “खाना र खाजा पनि बोकेर जानु पर्छ, काम अनुसारको दाम पनि पाइँदैन । ३२ किलोमिटर साइकल कुदाउनु पर्दा थकाइ पनि त्यत्तिकै लाग्ने गर्छ ।” चन्द्रबहादुर र मङ्गतु जस्तै करिब ५० जना मुक्त कमैया दैनिक ज्यालादारीका लागि गुलरिया पुग्छन् । चन्द्रबहादुरले भन्नुभयो, “बिहान ८ बजे काम सुरु गरे पनि सकिँदा ५ बज्छ । अनि घर फर्किंदा राति हुन्छ । पाँच सय रुपियाँ कमाउन त्योभन्दा बढी मेहनत गर्नु पर्छ ।” वनगाईका अर्का मुक्त कमैया भरोसे थारूले कहिलेकाहीँ बाटोमा साइकल पन्चर हुँदा काम नै छुट्ने र त्यत्तिकै घर फर्किनु् परेको अनुभव सुनाउनुभयो ।

करिब दुई दशकअघि सरकारले मुक्त कमैयालाई जग्गा उपलब्ध गराएको वनगाईस्थित मुक्त कमैया बस्ती पूर्वपश्चिम राजमार्गको किनारमा पर्छ । राजमार्गको उत्तरतर्फ वन क्षेत्र छ । त्यसैले पनि बस्तीको अभावमा रोजगारीसमेत छैन । मुक्त कमैया बस्तीमा अहिले पनि दुई सय परिवार बस्दै आएका छन् । उनीहरूको मुख्य आम्दानी भनेकै ज्यालामजदुरी नै हो । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *