हनुमान ढोकाको नौ तले दरबार सर्वसाधारणका लागि खुला

काठमाडौँ। अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौ तले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमान ढोकामा मङ्गलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नौ तले दरबारको रिबन काटेर उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्त्वलाई जोड दिनुभयो । उहाँले भन्नुभयो, “नौ तले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ । भूकम्पले ढलाएका हाम्रा सम्पदाहरू उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’’

मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सीपको प्रशंसा गर्दै भन्नुभयो, “लिच्छवीकालका जस्ता कलाकारहरू आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप पुनर्निर्माणमा देखिएको छ । नौ तले दरबार निर्माणमा देखिएको छ। हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदाहरू हुन् ।”

उनले अगाडि भन्नुभयो, “हाम्रो सम्पदा र कला संरक्षण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ । सरकारले यसबारेमा निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्छ ।’’

डिजिटल युगमा प्रवेश गरिसकेको वर्तमान समयमा सम्पदाको डिजिटल अभिलेखनको खाँचो औंल्याउँदै मन्त्री पाण्डेले पुरातत्व विभाग र अभिलेखालयलाई त्यसतर्फ सक्रिय हुन निर्देशन दिनुभयो । “डिजिटल दुनियाँमा हाम्रा सम्पदा र कलालाई प्रविष्ट गराउन जरुरी छ,’’ उहाँले बताउनुभयो ।

नौ तले दरबार उद्घाटन समारोहमा मन्त्री पाण्डेले नेपालको पुरातात्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिनुभयो। “हाम्रो सम्पदाको चर्चा र प्रचार आवश्यक छ, र नयाँ पुस्तालाई पनि यसबारे जानकारी दिनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक, चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा सम्पदा क्षेत्रमा सक्रिय विज्ञहरू सहभागी थिए । उनीहरूले नौतले दरबारको पुनर्निर्माणमा प्रयोग गरिएको परम्परागत काष्ठकला, ढुङ्गा निर्माण शैली र हस्तकलाको पनि अवलोकन गरेका थिए ।

प्राचीन शिल्प, परम्परा र धैर्यको प्रतीक मानिने नौ तले दरबार आज सर्वसाधारणका लागि खुला भएपछि हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक महत्त्वमा पुनः ऊर्जा थपिएको छ ।

मन्त्री पाण्डेले भन्नुभयो, “हाम्रो सम्पदा केवल ढुङ्गा, काठ र इँटाको संरचना होइन। ती हाम्रो पहिचानका कडी हुन् । नयाँ पुस्तालाई साधना, धैर्यता र अभ्यासको महत्त्व सिकाउने माध्यम हाम्रा सम्पदा नै हुन् ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *