लेखनाथ । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई एक सय १८८ मत अन्तरले पराजित गरी थेबे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको हो ।
थेबेले सात सय ९६ मत पाउँदा पुरीले छ सय आठ मत पाउनु भएको छ । पुरी निवर्तमान महासचिव हुनुहुन्छ । निर्वाचनमा एक हजार सात सय ६४ मतमध्ये एक हजार चार सय चार मत खसेको थियो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मङ्गलबार बिहानदेखि विद्युतीय मतदान भएकोमा साँझ परिणाम सार्वजनिक भएको हो ।
सङ्घको उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह चुनिँदा महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र अरुण कुँवर, मधेसी सचिवमा मोबिन अख्तर आलम र महिला सचिवमा निशा लिम्बु सुब्बा निर्वाचित हुनुभएको छ ।
सङ्घको अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी निर्वाचित हुनुभएको छ ।
सङ्घको महाधिवेशन शुक्रबार प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।