काठमाडौं । मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा प्रस्तावित केबलकार निर्माणको विरोधमा स्थानीय संरक्षणकर्ताहरूले पुनः आन्दोलन चर्काउने भएको छ ।
उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लङ्घन र जबर्जस्ती विकास योजनाविरुद्ध मुक्कुमलुङ क्षेत्रमा चल्दै आएको संरक्षण आन्दोलन फेरि चर्किने हो । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरूले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका पछिल्ला चरण र आगामी कार्यक्रमबारे पत्रकार सम्मेलनमा जानकारी दिए । महतोका अनुसार मुक्कुमलुङ क्षेत्रका विभिन्न स्थानमा राज्य र केबलकार पक्षधरहरूको मिलेमतोमा भिजलान्ते हिंसा, गोलीकाण्ड र गिरफ्तारीजस्ता गम्भीर मानव अधिकार उल्लङ्घन भएका छन् ।
केही समयअघि मात्रै सर्वोच्च अदालतले पाथीभरामा निर्माणाधीन केबुलकार परियोजनालाई रोक्ने अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको थियो । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत बुधबार सुनाएको आदेशसँगै केबुलकार निर्माणको काम अघि बढ्ने बाटो खुलेको थियो ।
त्यसपछि मुक्कुमलुङ संरक्षणकर्ताहरूले आन्दोलन घोषणा गरेका हुन् । पाथीभरामा केबलकार निर्माणले मुन्धुमी संस्कृती माथि प्रहार गरेको भन्दै स्थानीय लिम्बु समुदाय आन्दोलित बनेका थिए । आन्दोलनका क्रमका प्रहरीले बल प्रयोग गर्दा कैयन घाइते समेत भएका थिए ।