बिआरआई नेपालको सर्वोत्तम हितमा छ, पश्चिमा देशले गलत प्रचार गरे : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई नेपालको सर्वोत्तम हितमा रहेको बताउँदै पश्चिमा मुलुकले यसको बारेमा अफवाह फैलाएको दावी गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको उपयोग अधिकतम गर्नुपर्ने बताए। उनले अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणको कुरा गर्दा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पहरूसहित परियोजनाहरू छनोट र वार्ता गर्नुपर्ने बताए।

सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बिआरआईका फाइदा उपयोग गर्नसक्ने बताए। पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वका लागि बिआरआई ल्याएको हो भनेर पश्चिमी देशहरूले गलत प्रचार गरिरहेको पनि दावी गरे।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वका लागि बिआरआई ल्याएको हो भन्ने प्रचार भइरहेको छ। यो पश्चिमी संसारको आवाज हो। बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी नेपालको नीति सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको सिद्धान्तमा आधारित छ। त्यसैले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा छ र देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा यसको उपयोग अधिकतम गर्नुपर्छ।’

पूर्वप्रधानमन्त्री खनालले केही मानिसले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्ने गरेको र लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *