काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । आयोगले यस्ता अभिव्यक्तिहरू मानव अधिकारका मूल्यमान्यता र विधिको शासनविपरीत हुने स्पष्ट पारेको छ ।
आइतबार आफ्नो पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं आफ्नो पार्टी (नेकपा एमाले) को नियन्त्रणमा हुनुपर्ने बताएका थिए । उनले राजावादी समूहको प्रदर्शनलाई लक्षित गर्दै कार्यकर्ताहरूलाई त्यस विरुद्ध उत्रन निर्देशन दिएका थिए । यो अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक मुलुकमा शान्ति–सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको हो । कुनै पनि पार्टीले कुनै क्षेत्रलाई नियन्त्रणमा लिने कुरा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।”
आयोगले नेपालको संविधान र कानुनले शान्तिपूर्ण रूपमा विचार र अभिव्यक्ति राख्न कुनै निषेध नगरेको स्मरण गराउँदै जिम्मेवार व्यक्तिहरूलाई संयमित अभिव्यक्ति दिन, अरू व्यक्ति, समूह वा पार्टीलाई लक्षित गरी मुठभेड निम्त्याउन सक्ने उत्तेजनापूर्ण टिप्पणी नगर्न र शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, सुरक्षा निकायलाई राजधानीलगायतका क्षेत्रमा शान्ति–सुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ ।
