काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको स्पष्ट पारेका छन्।
१८औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै नेपालले उक्त कुरा स्पष्ट पारेका हुन् । बिहिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। २०६२र६३ को जनक्रान्तिको जगमा गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनक्रान्ति सहित न्यायपूर्ण आन्दोलनहरूमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका योगदानको उच्च प्रशंसा गर्दछु।
जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरूप लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको हो। सार्वभौमसत्ता सम्पूर्ण रूपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि यो अझै हाम्रो जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन। राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन।
नेपालको संविधानले समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरू प्रतिविम्बित छन्। त्यसको व्यवहारिक कार्यान्वयन मार्फत जनताको हातमा प्रतिफल पुर्याउने कुरामा केही कमजोरीहरू देखिएका छन्। यसलाई व्यवस्थाको असफलता भनेर परिभाषित गर्ने दुष्प्रयास हुदैछ। जनताको आन्दोलनको जगमा स्थापित यो व्यवस्थाको सम्पूर्ण लाभ नेपाली जनताले नै पाउनुपर्दछ भन्ने विषयमा दुइमत हुन सक्दैन। उल्लेखित कुरालाई आत्मसात गर्दै राजनीतिक दल तथा सरकार सञ्चालन गर्नेहरूले गंभीर आत्मसमीक्षा सहित कमजोरीहरूलाई सुधार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनु पर्दछ।
अन्त्यमा, म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान गर्न चाहन्छु(हामीले हासिल गरेको यो मूल्य र मान्यता तथा उपलब्धिको रक्षा र समृद्धिको यात्रालाई अघि बढाउन यहाँहरूको सक्रिय भूमिका एवम् रचनात्मक सहभागिता समेत आवश्यक छ। हामी केवल आलोचना मात्र होइन, सुधारको साझा एजेन्डा निर्माण गर्दै अघि बढ्नु पर्दछ। आजको यस ऐतिहासिक दिनले हामी सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सामाजिक न्याय सहितको समृद्धि र समाजवादतर्फ अघि बढ्न प्रेरणा र उर्जा प्रदान गरोस् भन्ने कामना सहित पुनः १८ औँ गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु।’