बारा । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले बाराको बंगरी नदीमा निर्माणाधीन पुलको काम १५ जेठभित्र नसके ठेकेदारलाई खोलामा गाडिदिने धम्की दिएका छन् । मङ्गलवार पर्सौनी र कलैया जोड्ने बञ्जरीया पुलको अनुगमनका क्रममा उनले ठेकेदारलाई यस्तो चेतावनी दिएका हुन् ।
जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकामसँग जोड्ने यो पुल १३ वर्षदेखि अलपत्र छ । २०७९ को निर्वाचनमा श्रेष्ठले पुल निर्माणको प्रतिबद्धता जनाएका थिए । पुलको मुख्य संरचना बने पनि एप्रोच सडक नबन्दा सञ्चालनमा आउन सकेको छैन, जसले स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीसहितको टोलीसँग अनुगमनमा पुगेका श्रेष्ठले भने, “१५ जेठभित्र काम सक्नुपर्छ, नत्र खोलामा गाड्छु । आज बेलुकासम्म एक्साभेटर र दुई टिपर ल्याउनुस्, भोलिदेखि काम सुरु होस् ।” उनले इन्जिनियर र ठेकेदारलाई ग्याबिन राखेर ढलानको काम तत्काल अघि बढाउन निर्देशन दिए ।