काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले लोडसेडिङसम्बन्धी हल्लामा कुनै सत्यता नभएको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा शाक्यले सामाजिक सञ्जालमा फैलाइएका लोडसेडिङका अफवाहहरू निराधार रहेको स्पष्ट पारे ।
उनले विश्वसनीय विद्युत् आपूर्ति सुनिश्चित गरेर यस्ता हल्लाहरूलाई खण्डन गरिने बताए । शाक्यले हाल मुलुकमा विद्युत् अभावको समस्या नरहेको र ट्रिपिङजस्ता प्राविधिक समस्यालाई चाँडै समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । उनले विद्युत् आपूर्तिमा बर्सेनि सुधार भइरहेको र विश्वसनीय सेवा प्रदान गर्नु प्राधिकरणको मुख्य लक्ष्य रहेको उल्लेख गरे ।
निजी क्षेत्र र उद्योगीहरूले विद्युत् खपतमार्फत प्राधिकरणको व्यापार वृद्धिमा योगदान पुर्याएकाले उनीहरूलाई सम्मान गर्ने नीति प्राधिकरणले लिएको शाक्यले बताए ।