सप्तरी । सप्तकोशी नगरपालिका–४ की ममतादेवी सदाको परिवारमा सात सदस्य छन् । श्रीमान्, ससुरासँगै तीन छोरी र एक छोरासहितको उहाँको परिवार अर्काको जग्गामा फुसको घर बनाएर जेनतेन बस्दै आएको थियो ।
दैनिक मजदुरी गरेर पेट पाल्ने उहाँको परिवारलाई एकातिर हावाहुरी र घामपानीबाट घरलाई कसरी जोगाइराख्ने भन्ने चिन्ता हुने गथ्र्याे भने अर्कातिर जग्गावालाले बेला बेलामा ‘मेरो जग्गा खाली गरिदेऊ’ भन्थे । उहाँको परिवारले साह्रै तनाव खेप्नु पथ्र्यो । सप्तकोशी नगरपालिकाले नयाँ प्रविधिको प्रयोगबाट निर्माण गरिएको बाँसको सुविधासम्पन्न पक्की घर हस्तान्तर गरेपछि भने उहाँको परिवार अहिले चिन्तामुक्त भएको छ ।
ममता भन्नुहुन्छ, “अब घरको चिन्ता छैन । स्नानगृह, शौचालय, भान्साघरसहित दुई कोठा भएको बाँसबाट निर्मित सुविधासम्पन्न घर पाएपछि बसोबास सहज भएको छ ।” सप्तकोशी नगरपालिकाले भूमिहीन दलित मुसहर समुदायका १८ परिवारका लागि वडा नम्बर ४ स्थित एकै ठाउँमा बनाइदिएको त्यस्तै घरमा बसोबास गर्दै आएका गनु सदा र परमिला सदाको परिवार पनि अब घरको चिन्ता छोडेर मजदुरी गर्न व्यस्त छ । गनुले भन्नुभयो, “पहिला अर्काको जग्गामा टुटेफुटेको फुसको घरमा बास थियो । केही भइहाल्छ कि भनेर एक दुई जना घरकै हेरचाहमा बस्नु पथ्र्यो, अब घरको चिन्ता हटेको छ ।”
गनु जस्तै सप्तकोशी नगरपालिकाका भूमिहीन सुकुमवासी १८ परिवारले वडा नम्बर ४ स्थित एकै ठाउँमा सुरक्षित सुविधासम्पन्न घर पाएपछि उहाँहरूको बसोबास सहज हुनुका साथै दैनिक जीवन र रहनसहनमा पनि परिवर्तन आएको छ ।
भूमिहीनलाई सुरक्षित बसोबास
सप्तकोशी नगरपालिकाको अनुदान, महुली सामुदायिक विकास केन्द्र र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको संयुक्त साझेदारीमा सुरक्षित आवास कार्यव्रmम अन्तर्गत आधुनिक प्रविधि प्रयोग गरी बाँसबाट निर्माण गरिएको व्यवस्थित घर पाएपछि मुसहर जातिका १८ परिवारले घरकै चिन्ताबाट भने मुक्ति पाएका छन् ।
११ फिट लम्बाइ÷चौडाइ भएको दुई वटा कोठा, छ फिटको बरन्डा, भान्साकोठा र शौचालयसहितको घर भूमीहीन सुकुमवासीलाई हस्तान्तरण गरिएपछि उनीहरूको जीवनयापन गर्ने शैलीमा परिवर्तन आएको सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालले बताउनुभयो ।
महुली सामुदायिक विकास केन्द्र र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको संयुक्त साझेदारीमा सुरक्षित आवास कार्यव्रmम अन्तर्गत प्रतिघर सप्तकोशी नगरपालिकाको दुई लाख ९० हजार रुपियाँ अनुदान, महुली सामुदायिकको दुई लाख र घरधनीको एक लाख २९ हजार रुपियाँ बराबरको श्रमदान गरी कुल छ लाख १९ हजार रुपियाँको लागतमा निर्माण गरिएको जानकारी उहाँले दिनुुभयो । सुरक्षित आवाससहितको घर हस्तान्तरण गरेपछि भूमिहीन मुसहर समुदायका १८ परिवारका सय जनाको रहनसहन र दैनिक जीवनपद्धतिमा परिवर्तन आएको नगरप्रमुख ढकालको भनाइ छ ।
उहाँले भन्नुभयो, “गत आवमा १८ परिवारलाई बाटो, खानेपानी र बिजुलीसहितको सुविधासम्पन्न घर निर्माण गरेर सुरक्षित आवास हस्तान्तरण ग-यौँ । यस वर्ष नगरपालिकाको वडा नम्बर ३, ७, ८ र ९ गरी चार वटा वडामा १०/१० गरी ४० वटा घर भूमिहीन सुकुमवसीका लागि यस्तै प्रविधिबाट निर्माण गरेर हस्तान्तरण गर्छौं ।”
घर निर्माणमा बाँसको नवीन प्रयोगसप्तकोशी नगरपालिका, महुली सामुदायिक विकास केन्द्र र ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल तथा घरधनीसमेतको त्रिपक्षीय सम्झौतामा निर्माण गरिएका ती घरमा बाँस मात्र प्रयोग गरिएको छ ।
बाहिरबाट पक्की घर जस्तै चिटिक्क देखिने ती घर निर्माण गर्न पहिला बाँसलाई उपचार केन्द्रमा राखेर उपचार गरी टिकाउ बनाइन्छ । त्यसपछि घरको कुर्सीदेखि चौतर्फी लगाइने पर्खालको सट्टा बाँसकै बातीले बनाइएको टाटीसमेतलाई जाली हालेर बालुवा र सिमेन्टबाट प्लास्टर गरिन्छ ।
यसरी निर्मित त्यो घरको आयु ३५ वर्ष हुने अनुमान गरिएको तर त्योभन्दा पनि बढी टिकाउ हुने महुली सामुदायिक विकास केन्द्रका प्राविधिक आनन्द भष्माले बताउनुभयो । उहाँले छानामा कर्कट पाता प्रयोग गर्नुबाहेक घेराबेरासहितको सम्पूर्ण घर बाँसकै प्रयोगबाट बनाइएको छ भने सिमेन्ट र बालुवाको मिश्रणबाट घरभित्र र बाहिर प्लास्टर गरिएको जानकारी दिनुभयो ।
भष्माले भन्नुभयो, “कम खर्चमा पूर्ण रूपले सुरक्षित घर बनाइएको छ । यसले स्थानीयस्तरमा बाँसको प्रवर्धन हुनुका साथै स्थानीय स्रोतसाधनकै उपयोग गरेर घर बनाउन सहज छ ।” भूमिहीन, गरिब तथा विपन्न परिवारका लागि कम खर्चमा कृष्णा सवरन गाउँपालिका र शम्भुनाथ नगरपालिकामा पनि पालिकासँगको साझेदारीमा यस्तै प्रविधिबाट घर निर्माण गरिएको र अझै पनि निर्माण कार्य भइरहेको महुली सामुदायिक विकास केन्द्रले जनाएको छ ।