काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा काठमाडौंको नेपाल ल क्याम्पसमा निःशुल्क एलएलबी तयारी कक्षा संचालन भइरहेको छ ।
क्याम्पसका नेविसंघका नेता आशिष थापाले आफ्नो अगुवाइमा तयारी कक्षा संचालन भइरहेको बताए ।
‘एलएलबी पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षामा सजिलो होस् भनेर कक्षा संचालन गरेका हौं, उत्साहजनक उपस्थितिले गर्दा तयारी कक्षाको महत्व बढेको छ ’ तयारी कक्षा संयोजक थापाले भने ‘प्रवेश परीक्षामा के–कस्ता प्रश्न आउँछन् र त्यसको समाधान कसरी गर्ने भन्नेबारेमा कक्षामा सिकाइन्छ ।’ संयोजक थापाले यसअघिको वर्षमा पनि नेविसंघले तयारी कक्षा संचालन गरेको बताएका छन् । तयारी कक्षा बिहान ७ बजेदेखि ८ बजेसम्म क्याम्पसमै संचालन भइरहेको छ ।

तयारी कक्षा वैशाख १६ बाट संचालन गरिएको थापाको भनाई छ । एल्एल्बीको प्रवेश परीक्षा जेष्ठ २४ गते ११ बजेदेखि १२ बजेर ४० मिनेटसम्म हुने छ । प्रवेश परुीक्षामा १ सय वटा बहुवैकल्पिक (अब्जेक्टिभ) प्रश्न आउने छन् । प्राप्तांकका आधारमा विद्यार्थी भर्ना लिइने क्याम्पसले जनाएको छ । त्रिविका अनुसार विद्यार्थीले जेष्ठ १९ गतेदेखि प्रवेशपत्र अनलाइन माध्यमबाट नै डाउनलोड गर्न सक्ने छ्न् । परीक्षा केन्द्र भनें त्यसपछि निर्धारण गरिने जनाइएको छ । एल्एल्बी पढ्न चाहने विद्यार्थीहरुले सोमबार राती १२ बजेसम्म प्रवेश परीक्षाको लागि अनलाइन फारम भरेका थिए । खुला र कोटा गरी ६ सय जनाले नेपाल ल क्याम्पसमा पढ्न पाउने छन् ।

सोमबारसम्म सामान्य दस्तुरमा १६ सय रुपैंया तिरेर अनलाइन फारम भरिएको थियो भनें जेष्ठ १२ गते राती १२ बजेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ । प्रवेश परीक्षाको फारम भर्नका लागि फोटो, नागरिकता, हस्ताक्षर, एस्एल्सी वा सोसरहको प्रमाणपत्र, १२ वा सोसरहको (ट्रान्सक्रिप्ट) प्रमाणपत्र र स्नातक तहको ट्रान्सक्रिप्ट (प्रमाणपत्र) चाहिने त्रिविको सूचनामा जनाइएको छ ।
नेपाल ल क्याम्पस २०११ सालमा स्थापना भएको हो । त्रिविले स्नातक तह उत्तीर्ण गरेकालाई एल्एल्बी र १२ कक्षा उत्तीर्ण गरेकाले ५ वर्षे बीएएल्एल्बी कोर्ष पढाउँदै आएको छ ।