ढाका । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच आज ढाकास्थित गणभवनमा भेटवार्ता भएको हो ।
उक्त अवसरमा नेपाल–बंगलादेशबीच व्यापार, पारवहन, ऊर्जा, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा राम्रो सम्बन्धलाई केन्द्रमा राखेर सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ ।
राजदूत भण्डारीले विगत ५० वर्षमा नेपाल–बंगलादेश सम्बन्धको सरकारी तथा जनता–जनता तहमा निरन्तर विकास भएको र पछिल्लो समय असल छिमेकीको भावनामा द्विपक्षीय सम्बन्ध बढ्दै गएको बताउनु भयो । ऊर्जा सहयोगमा जारी छलफल उत्साहजनक रहेको र यो ‘विन(विन इन्टरप्राइज’लाई साकार पार्नु महत्वपूर्ण कोसेढुङ्गा हुने उहाँले बताउनु भयो ।
प्रधानमन्त्री हसिनाले ले सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली राजनीतिक तथा नागरिक समाजका अगुवाहरूले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तोष व्यक्त गर्नुभयो ।
उहाँले व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा उपलब्ध सम्भावना र सम्भावनालाई प्रकाश पार्दै ‘बीबीआईएन’ ढाँचा मार्फत विस्तारित कनेक्टिभिटीको महत्त्वमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले भण्डारीलाई बंगलादेश सरकारको पूर्ण सहयोग र सहकार्य रहने बताउँदै सफलताको कामना गर्नुभएको छ । राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्रीका प्रमुख सचिव मोहम्मद जियाउद्दीन, प्रधानमन्त्रीका प्रमुख सचिव डा. अहमद कैकाउस, प्रधानमन्त्री कार्यालय र बंगलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो। राजदूत भण्डारीको साथमा नियोग उपप्रमुख ललिता सिलवाल र द्वित्तीय सचिव रञ्जन यादवको सहभागिता रहेको थियो ।
बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने
बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराउनुभएको हो ।
सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।
शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताउनुभयो । उहाँले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआइएन’ मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिनुभएको थियो ।