एक वर्षमा २०५ जनावरको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । 

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ देखि २०७९ असार ३२ सम्म मरेका जनावरमध्ये चित्तल प्रजातिका जनावर सबैभन्दा बढी रहेका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताउनुभयो । 

त्यस्तै गत वर्ष ३७ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, दुई वटा चोरी सिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीको भनाइ छ । त्यस्तै गत वर्ष अर्ना, जरायो र बँदेल १०÷१० वटा मरेका छन् । दशवटै अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । त्यस्तै एक÷एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन । 

यसैगरी सोही वर्ष छवटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा निर बिरालो तथा तीनवटा मगर गोहीको मृत्यु भएको छ । अधिकांश जनावरको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । त्यस्तै हात्ती, सर्प, अजिङ्गर, निलगाई, चखेवा तथा बाँदर दुई÷दुईवटा मरेका तिवारीले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *