काठमाडौं । ओमानले एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको छ । टियु मैदान कीर्तिपुरमा समूह ‘ए’ मा रहेको ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गरेको हो ।
ओमानले दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६ दशमलव ५ ओभरमा अलआउट हुँदै २९४ रनमात्र बनायो । योसँगै सेमिफाइनलमा पुग्ने ३ टिमको टुङ्गो लागेको छ । समूह ए बाट ओमान र नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समूह बी बाट युएईले सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी को अन्तिम खेलमा कुवेत र हङकङबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।
प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ ।
सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।