काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६ अर्ब रुपैयाँबराबरको धागो निर्यात भएको छ । भन्सार विभागका अनुसार पुस मसान्तसम्ममा नेपालबाट ५ अर्ब ९४ करोड ५० लाख रुपैयाँबराबरको धागो (पोलिष्टर यार्न) निर्यात भएको छ । अघिल्लो महिनासम्ममा ४ अर्ब ८७ करोडको धागो निर्यात गर्ने भएकोमा पुसमा मात्रै एक अर्बभन्दा बढीको निर्यात हुँदा यसको व्यापार झन्डै ६ अर्ब पुगेको हो ।
नेपालबाट पोलिष्टर, कटन लगायतका धागो निकासी हुँदै आएपनि अन्य धागोको निकासी भने नगण्य रहेको छ ।
कच्चा पदार्थ आयात गर्नुपर्ने भए पनि उच्च मूल्य अभिवृद्धिका कारण धागोले नेपालको निकासीका क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालबाट १२ अर्ब ८४ करोडबराबरको धागो निकासी भएको थियो ।