काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले निर्वाचनमा मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुनुपर्ने बताउनुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले मत बदर भए निर्वाचन हार्ने खतरा हुने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा धेरै ठाउँमा मत बदर भएका कारणले आफूहरुले चुनाव हारेको स्मरण गर्दै फेरि पनि गठबन्धनका मतहरु बदर हुने खतरा रहेको औंल्याउनुभयो । त्यसैले मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको उहाँको भनाइ थियो ।
महासचिव भुसालले आफूहरुले गठबन्धन बनाएर संविधानको रक्षा गरेको जिकीर समेत गर्नुभयो । गठबन्धन नभएको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति आउने उहाँको भनाइ छ ।
नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताउँदै उनले भने ‘नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधि सभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौं । हामीले असफल पनि पारेका थियौं । यो प्रश्न जनताको बीचमा स्पष्ट पार्नुपर्ने आवश्यक्ता छ । हामी गठबन्धन बनाएर संविधानको रक्षा गरेका थिएनौँ भने लोकतन्त्र समाप्त हुने थियो ।