चिया निर्यातबाट बर्सेनी ३ करोड ८० लाख विदेशी मुद्रा आर्जन

काठमाडौं । चिया निर्यातबाट बर्सेनी ३ करोड ८० लाख विदेशी मुद्रा आर्जन हुँदै आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको हाे । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यसमध्ये झापामा मात्र १० हजार ५ सय हेक्टरमा खेती छ । नेपालमा चिया उत्पादन, प्रशोधन तथा प्याकेजिङ गर्ने ३० अर्थोडक्स र ३८ सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् ।

मुलुकमा १ सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको उहाँले बताउनुभयाे । बोर्डको तथ्यांकमा मुलुकमा १ सय ६० वटा भन्दा बढी चिया बगान छन् । १५ हजार भन्दा बढी साना किसानले चियाखेती गर्दै आएका छन् । ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दावी छ ।

प्रमुख अधिकारीले देशभरमा १७ हजार भन्दा बढी कृषक चियाखेतीमा आबद्ध रहेको बताउनुभयो । पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको छ । झापामा उत्पादित सीटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *