जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ: मन्त्री चौधरी

काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताउनु भएको छ।

जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भन्नुभयो, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् ।खासगरी हिन्दू धर्ममा बिश्वास गर्नेहरुका लागि यो पवित्र स्थल हो। यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’

जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने सुनाउँदै भन्नुभयो, ‘तपाईंहरु फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउने छौँ । बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छैन । काम निर्धारित समयभित्रै सक्नुस्। काम गर्दा गुणस्तरीयतामा कमि नहोस् । तपाईंहरुले पनि निरन्तर आयोजनाहरुको निगरानी गर्नुस् ।’

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारी, संघीय आयोजना कार्यान्वयन इकाइ, धनुषाका आयोजना प्रमुख प्रदिप खनाल, स्थानीय जनप्रतिनिधि लगायतले आआफ्ना मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *