जिप दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जना स्वास्थ्यकर्मी रहेका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ को झुप्राखोला भन्ने स्थानमा भएको जिप दुर्घटनामा जिपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको थियो । उनीहरु चारै जना स्वास्थ्यकर्मी भएको खुलेको हो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने दैलेख भैरवी गाउँपालिकाका २७ वर्षीया सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही, दैलेख डुङगेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दिपेन्द्रजङ्ग शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

उनीहरुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गाडीमा सवार भैरवीकै वीरेन्द्रबहादुर शाही घाइते भएका छन् ।

मृतकमध्ये सागरले वीरेन्द्रनगरमा रारा मेडिकल सप्लायर्र्स चलाउँदै आएका र बाँकी तीन जना पालिकाका स्वास्थ्य संयोजक रहेका बताइएको छ । रत्न राजमार्गमा छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको जिप आइतबार बिहान करिब साढे २ बजे झुप्रा खोला नजिक दुर्घटनामा परेको थियो । गाडी सडकदेखि करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *