जुम्लामा नुन अभाव

काठमाडाैं । हिमाली जिल्ला जुम्लामा नुन अभाव देखिएको छ । कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताउनुभएको छ । १५ वर्षको अन्तरालपछि जुम्लामा नुनको अभाव भएको हो । 

जुम्लामा गाडी २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा  नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको थियो । साल्ट ट्रेडिङ जुम्लाका प्रमुख  मल्लले जुम्लामा सडक पुगेपछि पहिलो पटक नुन अभाव भएको बताउनुभयो । जुम्लामा साल्ट ट्रेडिङका तीन वटा डिपो छन् । खलंगास्थित डिपोमा १ सय ७९ क्विन्टल मात्र नुन मौज्दात रहेकोले असार अन्तिमसम्मका लागि समेत नपुग्ने अवस्था रहेको प्रमुख मल्लले बताउनुभयो । 

जुम्लामा अहिले प्रतिव्यक्ति पाँच केजी नुन दिने प्रवन्ध गरिएको छ । हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार डिपो खुलाउने गरिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा जुम्लाको लागि ३ हजार क्विन्टल नुनको कोटा तोकिएको थियो । कोटा अनुसारको नुन समयमै पुगे पनि सबै बिक्री भइसकेको प्रमुख मल्लले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *